
कालीकोट | कालिकोटको पलाता गाउँपालिका–२ सैनमा मिनीट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहीबार बेलुका मिनि ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइतेहरूलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ । पलाता–९ थिर्पूर्बाट धौलागोहको राडुनेटातर्फ जाँदै गरेको कर्णाली प्रदेश क ०१६२ नम्बरको मिनीट्रक बालुवा लिएर जाने क्रममा सैनको उकालोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । जिल्ला प्रहरीका अनुसार दुर्घटनामा अधिकांश महिला र बालबालिका घाइते भएका छन् ।
५ बालबालिकासहित ९ जना महिला घाइते छन् भने २ पुरुष छन् । थिर्पूर्को तिबगाडबाट बालुवा लिएर जाँदै गरेको टकमा १६ जना स्थानीय चढेका थिए । रिफर गरिएका घाइतेलाई पलाता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकोप्टरका लागि पहल भइरहेको पालिका अध्यक्ष विष्णु रोकायाले बताए ।
