
सुर्खेत । लामो समयदेखि अलपत्र अवस्थामा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहाताल गाउँपालिका जोड्ने रानिघाटको पुल निर्माण काम प्रकृयामा जाने भएको छ । असार २९ प्रतिनिधि सभा सदस्य हृदय राम थानीको पहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग महानिर्देशक सुशिलबाबु ढकालसहित सम्बन्धित निकायको उपस्थितिमा बसेको बैठकले रानिघाट पुल निर्माणको काम यथाशीघ्र अघि बढाउने निर्णय गरेको हो ।

सडक बिभागका महानिर्देशक सुशिलबाबु ढकालको अध्यक्षतामा सडक डिभिजन पुल महाशाखाका उप-महानिर्देशक नरेशमान शाक्य, सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख श्री अविमन दास मुल्मीसहित पुल निर्माणसंग सम्बन्धित निकायको उपस्थितिमा बसेको बैठकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका जोड्ने रानीघाट पुलको महत्व र स्थानीय उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै बैठकका सहभागीहरुले यसको पुनरुत्थानका लागि विकल्प खोज्ने निर्णय गरेका छन् ।
उक्त निर्णय अनुसार पुल साइटमा अवस्थित संरचनाहरू पुन: प्रयोग गर्ने सम्भावना निर्धारण गर्न स्वतन्त्र प्राविधिक मूल्याङ्कन गरिनेछ । यदि सम्भव भयो भनें, डिजाइन समीक्षा प्रक्रियालाई पुन: प्रयोगको सुविधाको लागि द्रुत गरिनेछ । तर, पुराना संरचना पुनर्निर्माण गर्न नसके पुलको पुनर्निर्माणका लागि नयाँ डिजाइन र निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायका अधिकारीहरु सहमत भएका छन् ।


साथै, प्रतिनिधि सभा सदस्य हृदय राम थानीले मंसिर ४ को निर्वाचन पश्चात सुर्खेत पश्चिम क्षेत्र र बिरेन्द्रनगरका जनताको आवश्यकता पुरा गर्ने प्रतिबद्वतालाई पुरा गर्ने उक्त पुल निर्माणका लागि निरन्त्रर पहल गरिरहेको बताएका छ्न् ।
पहिलो पटक श्री पप्पु-मल्ल जेभीसँग सम्झौता भएको रानीघाट पुल निर्माण काम २०७२ सेप्टेम्बर २९ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर पप्पु-मल्ल जेभी कन्ट्रकसनले पुल निर्माणको कामलाई अलपत्र अवस्थामा छोडिदिएपछि सडक डिभिजन कार्यालय सुर्खेतले गत मंसिर २७ गते ठेक्का सम्झौता खारेज गरिदिएको थियो ।
पुनर्निर्माणको प्रयासमा प्रगतिको प्रत्याशासँगै रानीघाट पुलले यस क्षेत्रको कनेक्टिभिटी सुधार र यातायात पूर्वाधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्थानीय समुदाय र व्यवसायीहरू आशावादी छन् ।