
मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बुधवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हावाहुरी, भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधवार राति कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका १–२ स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।