आर्थिक वर्ष २०७९/८० मा पौने आठ लाख विदेशिए

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुुगेको छ । यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२८ जना श्रमस्वीकृति लिएर विदेश गएका छन् । वैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७८/७९ मा छ लाख ३० हजारले श्रमस्वीकृति लिएका थिए ।

वैदेशिक रोजगार विभागका निर्देशक गुुरुदत्त सुुवेदीले नेपालको आन्तरिक रोजगारीको विकल्पका रूपमा रहेको वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पछिल्लो दुुई वर्षदेखि बढेको बताउनुुभयो । उहाँले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रमस्वीकृति लिनेको सङ्ख्या बढेको दाबी गर्नुुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रमस्वीकृति लिएको विभागले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ मा श्रमस्वीकृति लिएर विदेश जानेको सङ्ख्या तीन लाख ६५ हजार ४३३ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । वैदेशिक रोजगार विभागका अनुसार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्याङ्क राख्न सुरु गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।