कास्कीमा बसको ठक्करबाट दाजुको मृत्यु, भाइ गम्भीर घाइते


पोखरा श्रावण १ । कास्कीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखराबाट लमजुङ बेशीँ शहर जाँदै गरेको ग १ प ८६७६ नम्बरको बसले सोमबार कास्कीको रुपा गाउँपालिका पोल्याङमा ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय विवेक विकको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ

लमजुङको मध्य नेपाल गाउँपालिका ६ भोर्लेटार घर भएका विकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । मोटरसाइकलमा सवार जितेन्द्र विक गम्भीर घाइते भएका छन् । जितेन्द्रको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका विवेक र घाइते भएका जितेन्द्र दाजुभाइ हुन् । बस चालक विशाल गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।