
कर्णाली प्रदेश प्रहरीले कर्णालीका १० जिल्लाका घर–घरमा फोन नम्बरसहितको स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । कर्णाली प्रदेश प्रहरीको “सुरक्षित कर्णाली” अभियान अन्तर्गत प्रहरीको फोन नम्बरसहितको स्टिकर टाँस्ने अभियान सुरु गरिएको हो ।

आज आइतबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेश प्रहरीले वीरेन्द्रनगरमा आयोजना गरेको स्टिकर टाँस्ने अभियानको उद्घाटन गरेका छ्न् । कार्यक्रमका प्रमुख अथितिको रुपमा रहेका खड्काले प्रहरीको यस अभियानले नागरिक र प्रहरी बीचको सम्बन्ध अझ प्रगाढ हुने र नागरिकले वास्तविक रुपमा सुरक्षा अनुभूति गर्ने एवम् नागरिक मैत्री सेवा तथा लोकतन्त्रमा नागरिकको सुरक्षा गर्ने राज्यको दायित्वमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छ्न् । साथै कर्णाली प्रदेश प्रहरीले सुरु गरेको यो कार्य अत्यन्तै राम्रो र नमुना कार्य भएको कुरा पनि बताए ।
उक्त अवसरमा विशेष अतिथि कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि.सि ज्यूले कर्णाली प्रदेश प्रहरीलाई सक्षम बनाउन हरतवरले सहयोग गर्ने कुरा बताए । त्यसैगरी वीरेन्द्रनगरको नगर प्रमुख मोहन मायां ढकाल ज्यूले सुरक्षित कर्णाली अभियान अन्तरगतको यो कार्यलाई आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्वता जनाएकी छिन् ।

उक्त कार्यक्रममा स्वागत एवम् कार्यक्रमबारे प्रकाश पार्दै कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजि भिम ढकाल ज्यूले कर्णालीको समग्र सुरक्षा सुधारमा यो अभियान सहयोगी हुने, यसबाट नागरिक प्रहरी बिच सम्बन्ध थप राम्रो हुने अपराध कम हुने कुरामा विश्वास व्यक्त गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर-२, कोलडाँडामा आयिजित स्टिकर टासँ अभियान उद्घाटन समारोहमा प्रदेश मन्त्री, प्रदेश सांसद , सचिव, कार्यालय प्रमुखहरुम शैक्षिक संस्थाका प्रमुख, उद्योग व्यवसायी, विद्यार्थी, स्थानीय सर्वसाधारणसमेत गरि ठुलो संख्यामा उपस्थित रहेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको आयोजनामा घरघरमा स्टिकर टाँस अभियान सुरू भएको हो । कर्णालीका दशवटै जिल्लाका ३ लाख ७१ हजार घरधुरीमा पुगि स्टिकर टाँस गरिने छ । प्रत्येक घरको मूल ढोकामा नाग टाँस गरेझैँ टाँस गरिने उक्त स्टिकर टाँस गर्दा घर परिवारसँग सुरक्षा अन्तरक्रिया पनि हुने साथै रजिष्टरमा उक्त घरपरिवारको विवरण पनि उतार गरिने छ । यस अभीयानमा ३ हजार भन्दा बढी प्रहरी परिचालन हुने छन् । पलाष्टिक कोटेड(Plastic Coated) उक्त स्टिकरमा तपाईँलाई कुनै सुरक्षा समस्या भएमा तत्काल प्रहरीलाई फोन गर्ने अनुरोध गर्दै नजिकको प्रहरी कार्यालयको फोन नम्बर समेत उपलब्ध हुने छ । यस अभियानले नागरिक प्रहरी सम्बन्ध राम्रो हुने प्रहरीलाई सूचना आउने, प्रहरी पनि नागरिक सेवामा जिम्मेवार हुने साथै आपराधिक तत्व निरुत्साहित हुने अपेक्षा गरिएको छ । आजैको मिति र समयामा कर्णाली प्रदेशका दशवटै जिल्ला प्रहरी कार्यालयले विशेष कार्यक्रमको अभियान टाँस गर्ने अभियान सुरु गरेका छन् ।