सुर्खेतका भाइरल वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई पक्राउ गरिएको छ । उपभोक्ता समितिको ६ लाख ५० हजार रकम चोरीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।

डाध्यक्ष सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार वडाध्यक्ष विष्टसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लिएर फरार भएको उजुरी बिहीबार प्रहरीमा परेको थियो । वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ ।

गुरुङ र शाही शनिबार नै पक्राउ परेका थिए । उनीहरुले वडाध्यक्षलाई दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकारसमेत गरेका थिए ।

पक्राउ परेका दुइजनाले वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । वडा अध्यक्ष विष्टले भने आफूमाथि लागेको आरोप झुटो भएको बताउँदै आएका थिए । वडाध्यक्ष विष्टमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।