आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल पराजित

आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बनेको हो । नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदाँ ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरे । बलिङमा नेपालका करण केसीले चार विकेट लिए भने किशोर महतोले दुई विकेट हात पारे।

नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ रन जोडेका थिए ।

त्यसअघि ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए भनें । उनका ओपनिङ पार्टनर अर्जुन साउदले ४८ रन जोडेका छ्न् । एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८४ बलमा ३ चौका र २ छक्का हिर्काए ।

ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन बनाए । भीम सार्कीले २० रन जोड्दा कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४४ रनको योगदान गरे ।