दाङमा मोटरसाइकल दुर्घटनामा परेका गम्भीर घाइतेको मृत्यु


दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-११, उरहरीका ५५ वर्षीय खोपिराम अधिकारी रहेका छन् । उनको शिक्षण अस्पताल कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको टाउको र अनुहारमा चोट लागेको थियो ।

अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक हुन् । गत शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा उनीसहित चारजना घाइते भएका थिए ।
तुलसीपुर-अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-६ बुद्ध चोक नजिकै रा१प ८४४६ नंको मोटरसाइकल र रा४प २८६६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।