राप्तीको बाढीमा फसेका ६ गोठाला र ७८ बाख्राको उद्धार


बाँके, असार १७ गते । राप्ती नदीमा आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जना गोठाला र ७८ वटा बाख्राको शनिवार राति उद्धार गरिएको छ ।
राप्ती-सोनारी २ शम्शेरगञ्जका दलबहादुर पुन सहित ६ जना बाख्रा चराउन गएको बेला दिउसो नदीमा एक्कासि बाढी आएपछि बिच भागमा फस्नुभएको थियो । घटनाको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्य सहितका सुरक्षा प्रमुखहरू घटनास्थल कचनापुर पुग्नुभएको थियो । बाढीमा फसेका व्यक्ति र बाख्रालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले राती नै सकुशल उद्धार गरेको स्थानीय अगुवा डिल्ली गिरीले जानकारी दिनुभयो ।

स्थानीय अगुवा गिरीका अनुसार नदी वारी रहेका अन्य गोठालाहरू बेलुका घर फर्केपछि नदीको बिच भागमा केही व्यक्तिहरू फसेको जानकारी भए लगत्तै सुरक्षा निकायमा खबर गरिएको हो । तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू तत्कालै घटनास्थलमा पुगी उद्धार सुरु गरी राती १० बजेतिर डुङ्गामार्फत सबैको उद्धार गरिएको उहाँले बताउनुभयो ।