सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगयाे निर्वाचन आयोगका पूर्व आयुक्त शाह पनि पक्राउ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको हो।

यसअघि डिल्लीबजार मालपोत कार्यालयका पूर्वखरिदार गोपाल कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्योभन्दा अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो। गुरुङ पक्राउ परेको केही समयपछि मंगलबार नै मालपोत र नापी कार्यालयका तत्कालीन अधिकृतहरु गरी ४ जना पक्राउ परेका थिए।

पक्राउ पर्नेहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख एवम् पूर्व सहसचिव कलाधर देउजा तथा कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी छन्। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनीहरुलाई सीआईबीले नियन्त्रणमा लिएको हो। उनीहरु २०४९ देखि २०६६ सालसम्म मालपोत तथा नापी कार्यालयमा कार्यरत थिए।

बालुवाटारको सरकारी जग्गा अनियमितताका क्रममा सरकारी कागजात कीर्ते र सरकारी दस्तावेज केरमेटमा सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि कीर्ते कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

ललिता निवासको ११३ रोपनी जग्गाको सरकारी दस्तावेज तथा मिसिलहरु गायव पारेर बिचौलियाहरुले नक्कली कागजात खडा गरेर अनियमितता गरेको भेटिएको थियो।