लागुऔषधको अखडा बन्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर

पछिल्लो समय कर्णाली प्रदेशमा लागूऔषध प्रयोगकर्ता सख्या बढ्दै गएको छ । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले वीरेन्द्रनगरमा गरेको लागूऔषध, मदिरा एवं सूर्तिजन्य पदार्थको सेवनविरुद्ध अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशमा लागूऔषध सेवनकर्ताहरु बढिरहेको तथ्याङ्क सार्वजिक गरेको छ ।

नेपाल–भारत खुला सिमाना भएकाले भारतीय बजारबाट लागुऔषध नेपालगञ्जको बाटो हुँदै सुर्खेत कर्णालीका अन्य जिल्लामा पुग्ने गरेको ढकाल बताउँछन् । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकअनुसार कर्णाली प्रदेशका दश जिल्लामा १ हजार ८ सय ११ जना लागुऔषध सेवनकर्ता छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७७-७८ मा प्रदेशभर १ सय ६ पुरुष र १७ महिला, आर्थिक वर्ष २०७७-७८ मा १ सय ६४ पुरुष र आठ महिला लागुऔषध सेवन र कारोबारीको मुद्दामा पक्राउ परेको प्रदेश प्रहरीको तथ्यांक छ । यस्तै, चालु आर्थिक वर्षको हालसम्म कर्णालीका सोही मुद्दामा १ सय ५० जना पुरुष र १३ जना महिला प्रहरी हिरासतमा रहेको प्रहरी तथ्यांक छ ।

प्रतिशतका आधारमा हेर्दा लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये ८ प्रतिशत अर्थात् ४३ जना महिला रहेका छन् । नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण, २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५ सय ३४ जना लागुऔषध प्रयोगकर्ता थिए । प्रतिवेदनका अनुसार लागुऔषध प्रयोगकर्ताको संख्यामा वार्षिक रूपमा ५ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

चालु आर्थिक वर्ष २०७९-८० को हालसम्ममा कर्णालीमा प्रहरीले लागुऔषधमा ९३ वटा मुद्दा दर्ता गरेको छ । यसका साथै १ सय ९९ ग्रामभन्दा बढी लागुऔषध (ब्राउन सुगर) बरामद गरिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेकाहरूमा १ सय ५९ जनालाई मुद्दा चलाएको प्रहरीको तथ्यांक छ ।