चर्चित युटुवर राजकुमार थापा मगर पक्राउ

अवैध अनलाइन सट्टेबाजी वनएक्स बेटको प्रचार गरेको आरोपमा २२ वर्षीय युट्युबर राजकुमार थापा मगर पक्राउ परेका छन् । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले थापालाई कपनबाट शुक्रबार पक्राउ गरेको हो ।

काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं बुढानिलकण्ठमा बस्दै आएका राजकुमारले आफुलाई राजकुमार थापा भनेर चिनाउने गरेपनी उनको वास्तविक नाम भने राजकुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार राजकुमारले बेटिङ एप्लिकेसन वनएक्स बेट मार्फत विभिन्न खेलहरू खेलाउनका लागि आफ्नो युट्युब च्यानल प्रयोग गर्थे । आफ्ना हरेक भिडिओमा वनएक्स बेटलाई प्रचार गर्ने प्रोमो कोड दिएर विज्ञापन गरी सर्वसाधारणलाई सट्टेबाजी गर्न तथा गराउन उत्प्रेरित गरेको प्रहरीको आरोप छ ।

उनीमाथि थप अनुसन्धानको लागि आइतबार जिल्ला प्रहरी परिषद् काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।