साफ च्याम्पियनसीप प्रतियोगितामा नेपाल समूह चरणबाट बाहिरियो

भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगितामा नेपाल समूह चरणबाट बाहिरिएको छ ।

भारतको बैङ्गलोरस्थित कान्तिराभ रङ्गशालामा सम्पन्न खेलमा साविक विजेता भारतसँग २-० गोलअन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

खेलको पहिलो हाफमा बराबरी खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल खायो । खेलको ६१औँ मिनेटमा सुनिलले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा महेशले गोल गर्दै भारतलाई २-० को सहज जित दिलाए । समूह ‘ए’ मा रहेको भारतले यस जितसँगै सेमिफाइनलमा पुगेको छ । भारतले दुई खेलमा छ अङ्क जोडेको छ।

त्यसैगरी नेपाल एक खेलअगावै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको थियो । भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४-० ले हराएको थियो ।

समूह ‘ए’ मा रहेको नेपाल र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिए । अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तानविरुद्ध खेल्नेछ ।