प्रहरी जवान र हवल्दारको १६ वर्षमै अवकाश हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा अवकाश दिने प्रस्ताव तयार भएको बताएका छ्न् । आज असार १० गते गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भईसकेको बताएका हुन् ।

उनले प्रहरी संगठनभित्र प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको प्रोत्साहनको व्यवस्था राम्रो नभएको बतौँउदै एसएसपीबाट ९ महिनामा डीआईजी, एआईजी हुँदै आईजीपी भए पनि प्रहरी जवानदेखि सईसम्म पदोन्नतिको व्यवस्था राम्रो नभएको बताउँदै श्रेष्ठले भने, ‘जवान, हवल्दारहरु १९–१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भइरहेका छन् ।’

यसलाई सम्बोधन गर्न र क्याडर ल्याडर प्याट्रन मिलाउन पनि जवान, हवल्दार र सहायक हवल्दारलाई १६ वर्ष तथा असई र सईलाई १८ वर्ष सेवा अवधि पुगेपछि रिटायरमेन्ट दिने र २० वर्ष सेवा पुग्दा पेन्सन दिने व्यवस्था लागू गर्न गृह मन्त्रालयले आफ्नो प्रस्ताव अन्य मन्त्रालयमा पठाइसकेको बैठकमा बताए ।