नेपालकाे क्रिकेटमा बिश्वकप खेल्ने सपना सपनामै सिमित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूणर् खेलमा पराजित भएसँगै नेपालले सुपरसिक्समा पुग्न अफफल भएको छ। यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ।

शनिबार जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र ब्याटिङ दुवैमा खराब प्रदर्शन गरेको नेपाललाई नेदरल्यान्ड्सले ७ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो।

नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेट गुमाएर २७.१ ओभरमै पूरा गर्‍यो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउडले अर्धशतक प्रहार गरे। उनले ९० रनको योगदान दिए। गुल्सन झाबाट बोल्ड हुनुअघि उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

यस्तै डि लीडले नटआउट ४१ रन जोडे। उनले ३९ बलमा ६ चौका प्रहार गरे।

त्यसअघि सन्दीप लामिछानले ब्रिकमजित सिंहलाई ३० रनमा एलबिडब्लूको धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। सन्दीपले दोस्रो विकेट लिने क्रममा नेदरल्यान्ड्सका वेस्ली बारेसीलाई ३ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्यच गराए। सन्दीपले १० ओभरमा २ विकेट लिँदा ६० रन खर्चिए।

त्यसअघि नेपाल ४४.३ ओभरमा १६७ रनमै अलआउट भयो।