चर्चित र्‍यापर गिरिश खतिवडासहित तीन जनाविरुद्ध हत्या आरोप

चर्चित र्‍यापर गिरिश खतिवडासहित तीन जनाविरुद्ध हत्या आरोप लागेको छ।

विराटनगरको मेनरोडमा क्याफे रेष्टुरेन्ट सञ्चालन गर्दै आएका खतिवडासँगै अन्य तीन जनाविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार रेष्टुरेन्टमा मासु बिक्री गर्दै आएका धनपालथान गाउँपालिकाका व्यवसायी कासिद अन्सारीको मृत्युपछि पीडित परिवारले खतिवडासहित तीन जनाविरुद्ध किटानी जाहेरी दिएका हुन्।
पीडित परिवारले खतिवडासँगै क्याफेमा कार्यरत जहँदा गाउँपालिकाका करण राजवंशी, विराटनगरका अनुराग राउतविरुद्ध किटानी दिएका हुन्।

असार ३ गते बिहान करिब ११ बजे मासुको बक्यौता ४० हजार रुपैयाँ उठाउन अन्सारी क्याफेमा पुगेका थिए। कर्सिया बजारमा रहेको चाँदनी फ्रेस हाउसका सञ्चालक अन्सारीको रकम भुक्तानी माग्ने क्रममा रहस्यमय मृत्यु भएको पीडित परिवारले जनाएको छ।

यद्यपि, क्याफेमा कार्यरत कर्मचारीहरुले क्याफेमा लडेर घाइते भएपछि अन्सारीलाई विराटनगर अस्पताल तथा नर्सिङ होम उपचारका लागि पुर्‍याइएको जनाएका छन्। अन्सारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। मृतकका दाइ रसिद अन्सारीले उनको मृत्युमा खतिवडा र कर्मचारीको संलग्नता रहेको बताउँदै आएका छन्।