
काठमाडौँ ,जेठ २९ । पूर्वी नवलपरासीको अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका-१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका-१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभएको छ । मृतक सुवेदी मध्यविन्दु नगरपालिका-१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक रहेको बताइएको छ । अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएका थिए ।

साथै गत शनिबार गैँडाकोट नगरपालिका-३ केलादीस्थित कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई जनामध्ये एकजनाको शव फेला परेको छ ।नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका-१० जनजागृति टोलका सुरज सुवेदी शर्माको शव फेला परेको सूचना अधिकारी पाठकले बताए ।नदीमा डुबेर बेपत्ता भएका गैँडाकोट नगरपालिका-२ शिलान्यास चोकका २५ वर्षीय रमेश चालिसेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।