दादुरा खोप अभियान संचालन गर्दै गुर्भाकोट नगरपालिका

सुर्खेत | पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकाले चारदिने दादुरा, रुबेला खोप अभियान असार १ गते देखि ४ गते सम्म सञ्चालन गर्ने भएको छ। गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाले नगर पालिकाका १४ वटै वडामा खोप अभियान सञ्चालन गर्ने भएको हो।

४ दिने खोप अभियानका लागि ८६ खोप केन्द्र निर्धारण गरिएको र खोपका लागि १ सय ३३ जना स्वास्थ्यकर्मी र २ सय १६ जना स्वयंसेवक परिचालन गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ। अभियान अन्तर्गत गुर्भाकोट नगरपालिका भित्रका ६ महिनादेखि ५९ महिना सम्मका ४ हजार ९४ जना र ५ वर्षदेखि १४ वर्ष उमेर समूहका ९ हजार ९ सय ३३ गरि १४ हजार २७ बालबालिकालाई खोप लगाइने गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश पुरीले जानकारी दिनु भयो ।

खोप अभियान सञ्चालन गर्ने कार्यक्रमको पूर्वतयारी स्वरुप बिहीवार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख महेश पुरीले सरकारले यो अभियान कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिमको कैलाली, कञ्चनपुर ,बाजुरा, लगायत ९ जिल्लामा सञ्चालन हुन लागेको जानकारी दिनुभयो।