
सुर्खेत । नेपाल विद्यालय कर्मचारी परिषद् सुर्खेतले विगत ६ दिनदेखि सेवा सुविधाको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतमा धर्ना दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) को सेवा सुविधामा विभेद गरेको भन्दै गत २१ जेठदेखि शुक्रवार अन्तिम दिन समन्वय एकाइमा नेपाल विद्यालय कर्मचारी परिषद् सुर्खेतले धर्ना दिएको हो ।

धनार्का साथै विद्यालय कर्मचारी परिषद्ले आजै शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतलाई विभिन्न मागसहित आन्दोलनको लागि ज्ञापनपत्र समेत बुझाएको छ । सरकार र विद्यालय कर्मचारी परिषद्बीच विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि दबाव दिन धर्ना कार्यक्रम गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् सुर्खेतका अध्यक्ष दोर्नजंग विसीले बताए ।
आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालय कर्मचारीको सेवा सुविधा सुनिश्चित गर्ने उल्लेख गरिएको विषय हटाएका कारण आन्दोलनमा उत्रनुपरेको अध्यक्ष विसीले बताए । विद्यालय कर्मचारीहरुले शुक्रवार वीरेन्द्रनगर ६ पिपलचौतारादखि धर्नाको र्याली समेत निकालेर शिक्षा विकास तथा समन्वय इकाइसम्म परिक्रममा गरेका थियो । उनीहरुले सम्पूर्ण कर्मचारी एक हौं, विद्यालय कर्मचारीको दरबन्दी कायम गर, तलबमान कायम गर, श्रम शोषण गर्न पाइँदैन, हाम्रो योग्यताको कदर गर, संघीय शिक्षा एन जारी गर लगायतका प्ले कार्डहरु बोकेर समन्वय इकाइको कार्यालयमा धर्ना दिएका हुन् ।

कर्मचारीहरुले आफ्नो सेवा तथा सुविधामा विभेद हटाउन जिल्ला समिति र पालिकागत समितिले आ–आफ्नो ठाउँबाट आन्दोलनका कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । सुर्खेतका सामुदायिक विद्यालयमा कार्यरत करिब ३ सय भन्दा बढी विद्यालय कर्मचारी आन्दोलनमा छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनमा नेपाल शिक्षक महासंघ सुर्खेतका तथा शिक्षण पेशासँग सम्बद्ध सबै पेशागत संघ संगठन र सामुदायिक विद्यालयका व्यवस्थापन समितिले आन्दोलनमा ऐक्यबद्धता जनाएको अध्यक्ष विसीले बताए। आन्दोलनको अवज्ञा भएमा वा आन्दोलन दबाउने कुनै पनि खाले गतिविधि भए आन्दोलनले नयाँ मोड लिन सक्ने भएकाले त्यसबाट हुने सबैखाले क्षतिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने बताएका छन् ।
साथै उनीहरुले २८ जेठमा काठमाण्डौँमा गएर आन्दोलन समेत गर्ने प्रतिवद्धता जनाएका छन् ।