धर्मे र भष्मेले छोड्न नसकेको ईन्जिनियरिङ !

२०५७ सालको सुरुवातसंगै विवाह बन्धनमा बाँधिएका रमेशको ठिक एक बर्षपछि पहिलो सन्तान छोराको जन्म भयो । उनले सशस्त्र दोन्दको त्राश भएसँगै जुम्लाको खलंगा बजारको पश्चिम पट्टि गैरागाउँमा रहेको पुर्खेउली गाउँबाट बसाईसराई गरि नेपालगन्ज जाने निधो गरे । जहाँ हुर्कदै गरेको सानो छोरा धर्मेन्द्रको उचित लालनपालन र शिक्षादिक्षा हुने कुरामा खुशी थिए भनें आफू जन्मेको गाउँछोडी जाने कुरामा दुखी पनि थिए रमेश ।

केही बर्षपछि नेपालगन्जको एक उत्कृष्ट निजि बिधालयमा धर्मेन्द्र (उर्फ धर्मे) लाई भर्ना गरिदिए । सानैदेखि सबैको प्यारो धर्मे पढाईमा बिद्यालयको एक उत्कृष्ट विद्यार्थीमा पर्थ्यो । २०७४ सालमा राम्रो ग्रेडका साथ एस.ई.ई उतिर्ण भयो । छोरालाई डाक्टर बनाउने सपना बोकेका बाआमाको सल्लाह बमोजिम बिज्ञान विषय पढ्ने कुरामा राजिखुसी भयो धर्मे । नेपालगन्जबाटै कक्षा ११ र १२ पास गरेपछि, उसले एम.बि.बिएस प्रवेश जाँचको तयारी गर्न काठमाडौंको नेम ईन्स्टिच्युटमा भर्ना हुने घरमा सल्लाह भयो ।

कक्षा १२ पासपछि मोटरबाईक किनुदिनुपर्ने सर्त राखेको धर्मेले नकिनिदिँदा सम्म सुखै दिएन् । कोहलपुरको दुई कठ्ठा खेत बेचेर बाले धर्मेलाई उसैले रोजेको मोटरबाईक किनिदिए । ऊ बाईकमै नेपालगन्जदेखि काठमाडौं आयो । केही दिनको ईन्स्टिच्युटको उपस्थितिपछि उसका नयाँ साथी बनें । एउटा समूह बन्यो, धर्मेन्द्र, भष्मराज, बिपिन, बिबेक, टंक, उमेश, चन्द्र लगायताका केटाहरूको ।

धर्मेले भनें त्यहाँ मध्यको मन मिल्ने साथी भष्मराज (उर्फ भष्मे) लाई मान्थ्यो । भष्मे सुदुरपश्चिम, डडेल्धुरा जिल्लाको अजयमेरु गाउँका एक सरकारी अधिकृतको कान्छो छोरा हो । साथीहरूको लहिलहिमा लागेर धर्मे र भष्मेपनि कहिले मलेखु, कहिले दामन, कहिले धुलिखेल, कहिले क्लब र डान्सबार धाउन थाले । पहिला पहिला ब्रान्डेड लेभलका रक्सी मात्रै खाईन्छ भन्ने भष्मे लत लागेपछी लोकल रक्सी नै राम्रो हुने कुरा मा धर्मेसंग सहमति जनाउन थाल्यो ।

एकदिन कलंकिको एक क्लबमा महँगो रक्सी खाएर बिल तिर्दा पैसा नपुगेर मोबाईल डिक राखेर हिड्नु पर्‍यो । हरेकदिन नयाँ गर्लफ्रेन्ड बाईकमा बोकेर हिड्ने भएकाले साथीहरूले धर्मेन्द्रलाई पेले बोईको नयाँ नाम दिए । एम.बि.बिएसको प्रवेश जाँचमा त्यो समुहको कसैको पनि नाम आएन । अरु साथीहरु कोहि जापान, कोहि अष्ट्रेलिया लागे । भष्मे र धर्मे भने अन्तिम विकल्पमा ललितपुरको एक निजि ईन्जिनियरिङ कलेजमा शिभिल ईन्जिनियरिङमा भर्ना भए । नशाको कुलतमा लागेपछी उनिहरु कसैलाई नटेर्ने, घरमा पैसा नपठाए राम्रो नहुने भनि धम्की समेत दिन थाले ।

ईन्जिनियरिङ सुरु गरेसंगै भष्मेले आफ्नो कलेजमै नयाँ ग्रर्लफ्रेन्ड बनायो । उनी पूर्व बिरगंजकी र ऊ पश्चिमको धेरै कुरा फरक भएपनि खै कसरी माया प्रेम भयो पत्तै भएन । धर्मेको भने कुनै ग्रर्लफ्रेन्डको ठेगान थिएन दैनिक नयाँ नयाँ । कलेज नजाने, गएपनि कक्षामा नबस्ने भएकाले लगातार दुई बर्षकै चारवटै सेमेष्टरमा प्यानलनै विषयहरु लागेपछि ईन्जिनियरिङ अन्नियोलमा पर्यो ।

घर परिवारको सल्लाहमा दुबैजनालाई तिन महिना सुधारकेन्द्रमा राखिदिएपछि क्रमिक रुपमा सुधार भएर त्यहाँबाट निकालिएछ। भष्मेले आँसु झार्दै मलाई सुनायो दाई जिन्दगीमा सबै आश गुमाएका थियौ । ग्रर्लफ्रेन्डले पनि छोडिदिई, बिग्रिएपछि कसैले नहेर्ने रहेछन् । ठूलो गल्ती गरिएछ जिन्दगीमा, बाआमाले भनेको बाटोमा लागेको भए आज यसरी रुने दिन आउँने थिएन होला । अब हामी असल छोरा अनि कुशल ईन्जिनियर बन्ने छौ । अब हाम्रो रोकिएको ईन्जिनियरिङ अध्ययनमा निरन्तरता दिनेछौ । हाम्रो ईन्जिनियर बन्ने सपना मार्ने छैनौ । जिन्दगीमा बाटो बिराएकालाई प्रेरणा मिलोस, संयोगले आज चिया पसलमा हजुर सङ भेट भयो दाई । हाम्रो जीवन यात्रा लेखीदिनु होला भन्दै दुबै जना बिदा भए ।

लोमन न्यौपाने 
काठमाडौं