सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन

काठमाडौँ,जेठ १८। बिहीबार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दैे सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहेपनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए ।सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यकतालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनुभन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड दिनुपर्ने उनको भनाइ छ । सभामुख घिमिरेले संसद भवन निर्माणको काम देशको साझा र आवश्यकताको विषय ठानेर निर्माण गर्नुपर्नेमा जोड दिए ।

उपसभामुख इन्दिरा रानाले सयमको दुरुपयोग गर्नु भ्रष्टाचारसरह भएकाले नयाँ संसद भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुुनुपर्ने बताइन । सरकारले समयमा नै निर्माण सम्पन्न नगर्नेमाथि एक्सन लिनुपर्ने बताइन् । निर्माणको काम सब कन्ट्याक्टर राखेर भए पनि समयमै सक्नुपर्ने उनको भनाइ छ ।

यसअघि पनि सरकारले दुईपटकसम्म म्याद थपिसकेको भन्दै सहरी विकासमन्त्री सीता गुरुङल निर्माणको म्याद सरकारले थप्न नसक्ने बताइन् ।