
सिन्धुली , जेठ १६ । सर्पको टोकाईबाट दुधौलीको कुर्थौलीका एकै परिवारका दुई जना दाजु भाइको ज्यान गएको छ । सोमबार राती सुतिरहेको बेला ओछ्यानमा आई सर्पले टोकेको र उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका वडा नं. १ कुर्थौलीका १३ वर्षिय ग्रिस पहाडी र उनका भाई ३ वर्षिय ग्रिस्म पहाडी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । छोराहरुसँगै सुतेकी आमा गंगामाया पहाडीले कान्छो छोरा छटपटिईरहको अवस्थामा मंगलबार विहान ३ बजे थाहा पाएकी थिईन । थाहा पाए लगत्तै दुवै जना बालकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएकोमा उपचार हुन नसकी थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएको थियो ।

उनीहरुको उपचारका क्रममा मंगलबार विहान ८ बजे मृत्यु भएको उक्त अस्पतालका डाक्टरले घोषणा गरेका थिए । कुन सर्पले टोकेको भन्ने थाहा हुन नसके पनि दाजु ग्रिसलाई साईली औंलामा टोकेको र भाई ग्रिस्मलाई बाँया खुट्टाको बुढी औंलाको बीच भागमा टोकेको डाम देखिएको प्रहरीले जनाएको छ । उनीहरु सिमेन्ट व्लकले बनेको टायल लगाएको छानो भएको घरको पलङमा सुतेको अवस्थामा सर्पले टोकेको भए पनि समयको एकीन हुन नसकेको बताईएको छ ।