रेशमको रिहाईप्रति असन्तुष्ट गगन, भन्छन्-‘कानुनको बन्दोबस्त भन्दा बाहिर जान पाइँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाईलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । आज (सोमबार) आयोजित पार्टीको कार्यक्रलाई सम्बोधन गर्दै उनले सरकार कानुनभन्दा बाहिर गएको टिप्पणी गरे । चौधरीको निणर्यमा सरकारले मन लाग्दी गरेको उनको आरोप छ ।

‘नेपालको कानुनले कुनै पनि विषयमा अदालतले फैसला गरिसकेपछि अदालतको अन्तिम फैसलाको सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको छ । त्यो कानुनको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो सरकारले निणर्य गर्दियो । राष्ट्रपतिले सजाय मिनाहा गर्दिनु भयो । यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन, यो गणतन्त्र हो,’- महामन्त्री थापाले भने ।


सरकार चलाउन गाह्रो हुँदा कसैलाई पनि कानुन मिच्ने र बलमिच्याईँ गर्ने छुट नरहेको उनले बताए । सरकारले बल मिच्याईँ गरेर, दादागिरी देखाएर अदातलको निणर्यलाई समेत अवहेलना गारेको उनको आरोप छ ।
‘हामीलाई सरकार चलाउने कुरामा गाह्रो भयो, सजिलो भयो भनेर प्रचलित कानुनलाई मिचेर, थिचेर, बलमिच्याई गरेर, दादागिरी देखाएर हामी कुनै एउटा निणर्य गर्छौ ।

अदालतको पूणर्पाठ आएको छैन, हामी हतार-हतार निणर्य गर्छौं भने यसको अर्थ के हो ? अदालतलाई हामीले हेप्यौं ।’ उनले थपे, ‘हामीले बलमिँच्याई गर्यौं । हामीले जे गरेपनि हुन्छ भन्यौं । हामीले के भन्यौं भने हामीलाई अप्ठ्यारो परेका बेलामा यस्ता कुराहरु चल्छ ।’

कांग्रेसको सबैभन्दा ठूलो शक्ति विधिको शासन भएको उनको दाबी छ । कानुनको शासनको वकातल गर्दै गर्दा सरकार जानेमा कुनै प्रवाह गर्न नहुने उनको भनाई छ । कांग्रेसले अहिले सत्ताको लागि आफ्नो प्रिन्सिपलमाथि कम्परमाइज गरिराखेको उनको आरोप छ ।