बाँके जमुनहामा आगलागीबाट ११ घर नष्ट


नेपालगञ्ज, जेठ १४ । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ५ को जमुनहा गाउँमा दिउँसो १२ बजे भएको आगलागीबाट ११ घरसहित एक गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ, रन्जु यादव, बिहारी लाल कुम्हर, सलमान खाँ, राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूणर् क्षति भएको हो । भगवानपुरका प्रहरी निरिक्षक राजन रायमाजीले आगलागीका कारण १७ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रण गरीएको थियो ।

१२ बजे सुरु भएको आगलागी ३ बजेमात्रै नियन्त्रणमा आएको हो । आगलागी भएको जानकारी पाउने बित्तिकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहल दमकल लिएर आगो नियन्त्रण गर्न पुग्नु भएको हो । अध्यक्ष शाहले समयमै घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिएकोले मानवीय क्षति नभए पनि क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताउनुभयो । उहाँले पिडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । नरैनापुरमा फुसको छानो बढी भएको र वस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक बर्ष दर्जनौ आगलागी हुने स्थानियहरुले बताएका छन् ।