नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भयो : कांग्रेस प्रवक्ता महत

कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएकाले पार्टीले गम्भीर रूपमा लिएको बताएका हुन् । 

उनले घटनाको अनुसन्धान जारी रहे पनि मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको दाबी गरे । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले नाम लिएका कांग्रेस सांसद मञ्जु खाँण कहाँ छिन् भन्ने प्रश्नमा प्रवक्ता महतले भने, ‘को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन । मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ । आरजु राणाको केसमा उहाँले प्रमाणित होस भनेर उजुरी गर्नुभएको छ । तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषी हो भनेर व्यवहार भइरहेको छ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भन्ने विश्वास छ ।’

अनुसन्धानका क्रममा पक्राउ परेका बालकृष्ण खाँणले ‘आफू निर्दोष छु, साबित गर्छु’ भनेको पनि महतले बताए । घटनाको अनुसन्धान जारी रहेकाले ‘निर्दोष नफसून्, दोषी नउम्किऊन्’ भन्ने पक्षमा पार्टी रहेको प्रवक्ता महतले जनाए । खाँणले निर्दोष साबित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको पनि उनले बताए ।

‘आरोपित व्यक्तिमा पार्टीका बालकृष्ण खाँण पनि हुनुहुन्छ । अनुसन्धान जारी छ । निष्कर्ष आइसकेको छैन। उहाँले निर्दोष छु साबित गर्छु भन्नुभएको छ । अनुसन्धान निष्पक्ष हुनुपर्‍यो । त्यसमा पूर्ण सहयोग गर्छौं । ‘दोषी नउम्किऊन्, निर्दोष नफसून्’ भन्ने हाम्रो मान्यता हो। त्यो प्रकरणमा जोडिएका उहाँहरूले निर्दोष साबित गर्छु भनेपछि पार्टीले कारबाही गर्ने कुरामा निष्कर्षमा नपुगेको हो ।’

पार्टीको बैठकमा महामन्त्रीहरूले कुनै असन्तुष्टि नराखेको पनि प्रवक्ता महतले बताए ।