सरकारी वकिल कार्यालयमा टोपबहादुरको साढे ५ घन्टा लामो बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको बयान सकिएको छ।सोमबार अबेर रातिसम्म गरेर रायमाझीको बयान सकिएको सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।

रायमाझी आइतबार साँझ काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका थिए। उनलाई सोमबार काठमाडौं जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

न्यौपानेका अनुसार रायमाझीको बयान दिउँसो ४ बजेदेखि सुरू भएको थियो।

‘४ बजेदेखि सुरू भएर राति साढे ९ बजेसम्म बयान भयो,’ न्यौपानेले भने।

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पनि सोमबार नै बयान सुरू भएको थियो। तर अस्वस्थ भएकाले उनको बयान सकिएको थिएन। उनको जम्मा डेढ घण्टामात्रै बयान भयो।

खाणको मंगलबार पनि बयान लिने प्रहरी र सरकारी वकिलको तयारी छ।

खाणबाहेक यो प्रकरणमा पक्राउ परेका सबैको बयान सकिसकेको छ। प्रहरीले गत बुधबार नै मैजुबहालस्थित निवासबाट पक्राउ गरेको खाणको छैटौं दिनमा मात्रै बयान लिएको थियो।


प्रमाण संकलन तथा कागजात मिलाउनुपर्ने लगायतका कामका कारण उनको बयान ढिलो भएको थियो। प्रहरीले उनको मोबाइल फोन फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट रिपोर्ट आएपछि प्रहरीले उनीसँग सोमबार बयान लिएको हो। तर अस्वस्थ भएपछि बयान फेरि रोकिएको थियो। खाणबाहेक अन्य सबैको बयान भइसकेको छ।

अभियुक्तको बयान सरकारी वकिलको कार्यालयको रोहबरमा प्रहरीका अनुसन्धान अधिकृतले लिने व्यवस्था छ। अभियुक्तले बयानको क्रममा भनेका कुराहरू नै अनुसन्धान प्रतिवेदन (मिसिल) मा उल्लेख हुन्छ।

प्रहरीले सोधपुछ गरे पनि आवश्यक परेमा सरकारी वकिलले पनि सोध्न सकिन्छ। यसअघि प्रहरीले अनुसन्धानका लागि सोधपुछ गर्दा भनेका कुराहरू भने मान्य हुँदैन। तर त्यसको आधारमा प्रहरीले अभियुक्तसँग प्रतिप्रश्न भने गर्न सक्छ।

मुलुकी फौजदारी कार्यविधिको दफा १६ मा बयान लिने र सोधपुछ गर्ने शीर्षक उल्लेख छ।

त्यसमा भनिएको छ- कसूरको सम्बन्धमा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष अभियुक्तको बयान लिनेछ।

(२) उपदफा १ बमोजिम बयान लिँदा कसूरको सम्बन्धमा खुलाउनुपर्ने आवश्यक कुरा सोध्ने अधिकार सरकारी वकिललाई हुनेछ।

(३) अनुसूची-१ वा अनुसूची-२ अन्तर्गतका कुनै कसूरको सम्बन्धमा कुनै महत्वपूणर् कुरा थाहा छ भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएको व्यक्तिसँग अनुसन्धान अधिकारीले आवश्यक सोधपुछ गर्न सक्नेछ।

(४) उपदफा (३) बमोजिम सोधपुछ गरेकोमा अनुसन्धान अधिकारीले त्यसरी सोधपुछ गरेको कुरा लेखबद्ध गरी सम्बन्धित मिसिलमा राख्नुपर्नेछ।

प्रहरीले यस प्रकरणमा १३ जनालाई पक्राउ गरेको छ। रायमाझी, खाण, उनका पिए नरेन्द्र केसी, इन्द्रजित राई, टेकनारायण पाण्डे, केशव दुलाल, सन्दीप रायमाझी, सानु भण्डारी, टंककुमार गुरूङ, सागर राई, सन्देश शर्मा, रामशरण केसी र गोविन्द चौधरी हिरासतमा छन्।

अझै केही व्यक्तिहरू फरार छन्।

प्रहरीले यसमा संगठित अपराध कसूरमा अनुसन्धान गरिरहेको छ। ६० दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएको छ।