
अत्यधिक गर्मीले शरीरमा पर्ने दबाब (हिट स्ट्रेस) बाट श्रमिकलाई बचाउन ल्याइएको कानुनमा कतारले थप सुधार गर्ने भएको छ । कतारले मे २०२१ मा मध्याह्नमा श्रमिकलाई काममा लगाउन नपाउनेसहितको हिट स्ट्रेससँग सम्बन्धित नयाँ कानुन ल्याएको थियो । यो कानुनलाई थप परिमार्जन गर्ने कतारको तयारी छ ।

कतारका श्रममन्त्री अलिविन समिख अल-मर्रीले श्रम बजारको विकासका लागि हिट स्ट्रेससँग सम्बन्धित कानुनलाई थप परिमार्जन गर्न लागिएको बताए । ‘हामी हिट स्ट्रेससँग सम्बन्धित कानुनलाई थप उन्नत बनाउन गइरहेका छौं । पेसागत सुरक्षा तथा स्वास्थ्यका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायको सहयोगको सराहना गर्दछौं,’ गत साता कतारमा आयोजित पेसागत तापको दबाबसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘उच्च तापले श्रमिकलाई पर्ने दबाबबाट बचाउन कानुन ल्याउनेमा कतार अगाडि छ । यसले श्रमिकको उत्पादकत्वमा पर्ने प्रभावलाई कम गर्न हामीले योजना बनाएका छौं ।’
कतारद्वारा यससम्बन्धी दुई वर्षअघि जारी गरिएको कानुनले १ जुनदेखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बाहिरी क्षेत्रमा काम लगाउन रोक लगाएको छ । त्यस्तै रोजगारदाताले उच्च तापको असरबाट हुने जोखिमलाई न्यूनीकरण गर्न जोखिम आकलनको तयारी गर्नुपर्ने, मुख्य ठेकेदारले एउटै कार्य क्षेत्रमा भएका दुईभन्दा बढी सप्लाई कम्पनीसँग तापको दबाबबाट पर्ने जोखिमलाई न्यूनीकरण गर्न समन्वय गर्ने व्यवस्थासमेत उक्त कानुनमा गरिएको थियो । तापक्रम ‘वेट-बल्ब ग्लोब टेम्परेचर’ (डब्लूबीजीटी) को मापनभन्दा बढी भए पूरै काम बन्द गर्नुपर्ने, श्रमिकलाई सुरक्षा र स्वास्थ्यसम्बन्धी सूचना तथा तालिमको प्रबन्ध, उचित खानेपानी र आरामको प्रबन्ध, नियमित स्वास्थ्य परीक्षण, काम गर्न कठिन भए बन्द गर्न पाउने श्रमिकको स्वतन्त्रतालगायत विषय समेटेर कानुन जारी गरिएको थियो ।

रोजगारदाता कम्पनीले यी कानुनलाई कार्यान्वयन गरे/नगरेको अनुगमनमा भने कडाइ हुन सकेको छैन । सरकारी र ठूला आयोजनामा बिहान १० देखि दिउँसो ३ः३० सम्म काममा रोक लगाइए पनि अन्य ठाउँमा प्रभावकारी कार्यान्वयन छैन । कतारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अध्ययनअनुसार सामान्य रूपमा एउटा श्रमिकको काम गर्ने समयमा शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस हुन्छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार काम गर्ने समयमा शरीरको तापक्रम ३८ डिग्री सेल्सियस नाघेपछि जोखिम हुन्छ ।
डब्लूएचओको श्रमिकमाथि अध्ययन गरिएको अध्ययनअनुसार काम गर्ने समयमा दुई तिहाइ श्रमिकको शरीरको भित्री तापक्रम ३६.५ देखि ३७.४, एक तिहाइको ३७.५ देखि ३७.९ डिग्री सेल्सियस भेटिएको थियो । ५ प्रतिशत श्रमिकको शरीरको तापक्रम भने ३८ देखि ३८.४ डिग्री भेटिएको थियो । यो पाँच प्रतिशत भने उच्च खतरामा परेको हो । कतारको गर्मी समयमा बाहिरी तापक्रम सामान्यतया ४५ डिग्री हुन्छ । यो समयमा भित्री शरीरको तापक्रम उच्च बिन्दुमा पुगेको थाहा नहुँदा कामदारको ज्यान गइरहेको छ । कतारमा सबैभन्दा बढी नेपाली श्रमिकको मृत्यु जुन, जुलाई र अगस्ट महिनामा हुन्छ । १२ महिनामध्ये यी तीन महिनामा बढी नै मृत्यु हुन्छ । तर तापकै दबाबले मृत्यु भएको भने प्रमाणित हुने गरेको छैन