मध्यपहाडी लोकमार्गको काम सुस्त

रामेछाप,बैशाख २८ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको रामेछाप खण्डको निर्माण कार्यमा ढिलाइ भएको छ । निर्माण थालिएको ८ वर्ष बित्दा पनि कुनै-कुनै स्थानमा ट्र्याक खोल्ने कामसमेत हुन सकेको छैन ।

मध्यपहाडी लोकमार्ग आयोजनाले आर्थिक वर्ष २०७२/७३ मा ठेक्का लगाएको १४ किलोमिटर लामो खैरेनीघाट-डब्खा सडकको ट्र्याक आवश्यक चौडाई नपुगेपछि अरु काम हुन सकेको छैन । रामेछाप जिल्लामा पर्ने ५१ किलोमिटर सडक खण्डमध्ये आयोजनाले विभिन्न ४ भागमा विभाजन गरी निर्माण कार्य अघि बढाएको थियो । तीमध्ये खैरेनीघाट-डब्खा खण्डको काम सबैभन्दा पछि परेको छ ।

आयोजनाका इन्जिनियर मनिषकुमार सिंहका अनुसार लोहनी एन्ड ब्रदर्स/सिद्धबाबा जेभीले निर्माण कार्यको सम्झौता गरेको उक्त खण्डको ट्र्याक खोल्ने र चौडा पार्ने काम नसकिएकाले अरु काम अघि बढाउन सकिएको छैन । त्यसभन्दा पछि ठेक्का लागेका अरु तीन भागको काम कालोपत्रतर्फ अघि बढेको छ । ‘चाहिने मात्रामा चौडाई नपुगेकाले त्यस खण्डमा ग्राभेलको ठेक्का लगाउन सकेका छैनौं,’ सिंहले भने, ‘अरु तीन भागमा ग्राभेल सकेर कालोपत्रको पनि ठेक्का बन्दोबस्त भइसकेको छ । उनले बाँकी काम सम्पन्न गर्नका लागि उक्त निर्माण व्यवसायीलाई पटक-पटक आग्रह गरे पनि अटेर गर्दै आएको छ ।