मान्म बजारमा विद्युतका नांगा तार हटाएर एबिसी तार विस्तार गरियो

बैशाख १७, कालिकोट । नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले जिल्लाकाे सदरमुकाम मान्म बजार क्षेत्रमा विद्युत् लाइन विस्तारका क्रममा टांगिएका नांगा तार हटाएर एबिसी तार विस्तार गरेको छ ।

नाङ्गो तारले लाग्ने करेन्टको सुरक्षा, विद्युत् आपूर्तिमा भरपर्दो सेवा र बजार क्षेत्र सफा देखिने भएकाले पहिलो चरणमा मान्म बजारकाे जिराेप्वाइन्ट देखि प्रतिमाचाेकसम्मको तार फेर्ने काम भएको प्राधिकरण कालिकोटका कर्मचारी जया प्रसाद पाण्डेले बताएका छन् ।

एबिसी केबलको एउटा लट्ठाभित्र धेरैवटा तार रहने र तार बाहिरसमेत आवरणले ढाकिएको हुने हुँदा मान्म बजार भित्र रहेका अव्यवस्थित धेरै तारहरुले अस्त बेस्त देखिएकाे बजार क्षेत्रमा एबिसी केबलले बजारलाई सुरक्षित र फोहर तार व्यवस्थित हुने भएकोले एबिसी केबल लगाइएको वितरण केन्द्रका प्रमुख इन्जिनियर विमलप्रसाद शाहले बताउनुभएको छ ।
विद्युत् वितरण केन्द्र कालिकोटका अनुसार १४ लाखको लागतमा बजारको जिरो प्वाइन्टमा रहेको २५ केभिएको ट्रान्सफर्मर परिवर्तन गरी सोही ठाउँमा एक सय केभिएको ट्रान्सफर्मर जडान गरिने छ। बजारको माग र विद्युतकाे लोडअनुसार उक्त क्षेत्रमा ट्रान्सफर्मर राख्न लागिएको कार्यालयले जनाएको छ ।