उपचार क्रम मै बिते रवि लामिछानेका चालक

वैशाख १९, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ । घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो ।

सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए । सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।

घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए । थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

प्रहरीले उनीहरूको कोठाबाट रक्सीका बोतल फेला पारेको थियो।