१३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुक्रबार सुरु हुँदै 

काठमाडौँ, बैशाख १४ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको तयारी पूरा भएको छ । शुक्रबार प्रतियोगिता सुरु हुँदै छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा खेलाडी सहभागी गराउन स्थानीय तह, जिल्ला र प्रदेश छनोट प्रतियोगिता गरिएको थियो । माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनिका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ ।

एथलेटिक्सतर्फ छात्र/छात्रामा १३-१३, भलिबल र कबड्डीतर्फ छात्र/छात्रामा १-१, करातेतर्फ छात्र/छात्रामा ४-४ तथा उसु र तेक्वान्दोतर्फ छात्र/छात्रामा ३-३ स्वणर् गरी कुल ५० स्वणर्का लागि प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स दशरथ रंगशाला, भलिबल राखेप कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, उसु राखेपको सेमिकभर्डहल र तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न राखेपका सदस्य-सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिने छ । कुल पुरस्कार राशि ८ लाख ८५ हजार रुपैयाँ रहेको राखेपको खेलकुद प्रतियोगिता विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् ।

जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । मार्चपासमा शीर्ष तीन स्थान हात पार्नेलाई पनि नगद पुरस्कार रहेको छ । क्रमशः २५ हजार, २० हजार र १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।