मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा युरोपियन फिल्म फेस्टिभल महोत्सव हुदैँ

काठमाडौँ,बैशाख १२ । नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’को १२ औं संस्करण तीन चरणमा नेपालका तीन सहरमा आयोजना हुने भएको छ ।
वैशाख १५ देखि १७ सम्म पहिलो चरण महोत्सव सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा,र दोस्रो चरण वैशाख २० देखि २२ मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा र अन्तिम चरण वैशाख २९ देखि जेठ १ सम्म काठमाडौंमा हुनेछ ।

मानवअधिकारको नारा लिएर सुरु हुने यो महोत्सवमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु फिल्महरु प्रदर्शन गरिनेछन् । त्यस्तै महोत्सवमा ’मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका’, ’चलचित्रलाई कसरी बुझ्ने’ शीर्षकमा अन्तरक्रियात्मक छलफल हुनेछ ।

’एनी डे नाउ’ शीर्षकको फिल्म देखाउँदै तीनवटै सहरमा महोत्सव सुरु हुँदैछ । महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरुमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन गरेका इनभिजिवल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्यान्ड, यूके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्यान्डस्) रहेका छन् ।

महोत्सवमा टोनी ह्यागेन फाउन्डेशनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्महरु प्रदर्शन गरिनेछन् । जसमा अंकित खड्गीको निर्देशनमा बनेको ’आई वान्टेड टु बी लाइक माधुरी दीक्षित’, विशाल रोक्का मगरको ’गोर्खा गर्ल’ र ग्रिष्म गिरीको ’ब्लुज अफ पिंक’ छन् ।
नेपाली युवा फिल्म निर्माताहरुका अन्य फिल्महरुमा मिङ्सो लिम्बूको ’जुन्को’, सुनिल पाण्डेको ’बागथान’, पुनम पौडेलको ’लिभिङ्ग विथ डिग्नीटी’, दीपक रौनियारको ’फोर नाइटस’ र दीपा श्रेष्ठको ’ड्रिफ्टिङ क्लाउडस’ छन् ।