१५ दिनपछि उठाइयो सिंहदरबारको फोहोर

काठमाडौं बैशाख ११ सिंहदरबारको फोहोर सोमबारदेखि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो ।

मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।

महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए ।

मेयर साहको अडान कै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो ।

सिंहदरबारभित्रको फोहोर मैला उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले काठमाडौंको मेयर बालेनले फोहोर उठाउनको लागि ल्याण्डफिल साइटमा कुनै अवरोध नहुने भएपछी फोहोर उठेकाे घिमिरेले बताए ।

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा महानगरपालिकाले फोहोर लैजान नदिने भएपछि सिंहदरबार भित्रै फोहोरको व्यवस्थापन समेत सुरु भएको थियो । फोहोर रोकिन थालेपछि कुहिने फोहोर मल र पशुआहार, पुनः प्रयोग गर्नुपर्ने फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्दै अाएकाे थियाे ।