सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


काठमाडौंमा दुई वटा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४स्थित सडकमा एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बा.प्र-०२-०१९ प ९७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा शनिबार बिहान मकवानपुर थाहा नगरपालिका-७ का २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएपछि उनलाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो र उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल सवारबाट दुर्घटनामा परेका अर्का एक जनाको सोही अस्पतालमा उपचार जारी छ ।

यस्तै चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल सिजी गेट अगाडि बा ५ ख ७००४ नम्बरको हायस गाडीलाई ओभरटेक गर्नेक्रममा अर्को मोटरसाइकल पनि दुर्घटनामा परेको थियो । प्रदेश ०३-०२०औ०१३ प ९१८ नम्बरको मोटरसाइकल सोही गाडी मुनी छिरेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भने पाल्पाको तानसेन नगरपालिका-३ घर भएका २२ वर्षीय रसिक रामजालीको शनिबार बिहान मृत्यु भएको हो ।दुर्घटनापछि गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएपछी प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।