कास्कीमा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते


वैशाख ९, पोखरा । कास्कीको माछापुच्छे गाउँपालिकामा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन् । घाइते हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं. ९ का ६१ वर्षीय गुञ्जबहादुर थापामगर रहेका छन् । बिहान करिब सवा ८ बजे खाना खाएर सोही वडाको क्रन्डू जंगलमा घाँस दाउरा गर्न जानेबेला भालुले आक्रमण गरेको वडाध्यक्ष राजेन्द्र क्षेत्रीले बताएका छन् । घाइते थापालाई उपचारका लागि पोखरा फिस्टेल अस्पतालमा भर्ना गरिएको छ । ‘उहाँको अनुहार, गुप्तांगतिर आक्रमण गरेको चोट देखिएको वडाध्यक्ष क्षेत्रीले बताएका छन् ।

यो सँगै क्रन्डू जंगलमा भालुको आक्रमणबाट घाइते हुनेको संख्या पछिल्लो ३ वर्षमा ३ पुगेको छ । वडाध्यक्ष क्षेत्रीका अनुसार क्रन्डू जंगलमा परम्परागत रुपमा भेडा, बाख्रा गोठालाको गोठ हुने भएकाले भालुले बढी आक्रमण गर्ने गरेको छ । ‘त्यो एक्याप क्षेत्रभित्र पर्छ । त्यहाँ वर्षैपिच्छे भालुले मानवीय क्षति पुर्‍याउन थालेको छ’, वडाध्यक्षले भने, ‘त्यो क्षेत्रमा अहिले पनि बुढापाकाले परम्परागत रुपमा पशुपालन गर्ने गर्दछन् ।’