अबदेखि काठमाडौं महानगरपालिका थप सुरक्षित


काठमाडौं ,वैशाख ८ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र थप सुरक्षाको लागी सीसीटिभी क्यामरा जडान कार्य सुरु गरेको छ । सीसीटिभी क्यामरा जडान र सञ्चालनको निम्ति महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउँदै छ । शहरको शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहोरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधिमा आबद्ध गर्ने उद्देश्यले क्यामरा जडान गर्न लागिएको महानगरले बताएको छ । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ५० प्रतिशतले हुन आउने तीन करोड रुपैयाँ आगामी १५ दिनभित्र उपलब्ध गराइनेछ । त्यस्तै, बाँकी रकम कार्य सम्पादन भएपछि भुक्तानी गरिने बताइएको छ । मेयर बालेन शाहले शहरी व्यवस्थापनमा निगरानी राख्न महानगरभित्रै सीसीटिभी निगरानी कक्ष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
महानगरले गृह मन्त्रालयबाट जारी भएको ‘सीसीटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि’ अनुसार अघि बढ्ने जनाएको छ । सीसीटिभी रिङ नेटवर्क टोपोलोजी, भिडियो व्यवस्थापन प्रणाली, मर्मतर तथा निगरानीका लागि छुट्टै योजना तयारी पारिने बताइएको छ ।