सुर्खेतको वीरेन्द्रनगरदेखी मुगु रारा तालसम्म बुलेट बाईक र्याली

वैशाख ५, सुर्खेत | कर्णालीको पर्यटन प्रबद्र्धनका लागि सुर्खेतको वीरेन्द्रनगरदेखी मुगु रारा तालसम्म बुलेट बाईक र्याली आयोजना गरिएको छ ।

त्रिवेणी एड्भेन्चर प्रालीको आयोजना तथा नभ इन्टरप्राईजेज सुर्खेतको सहजिकरणमा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगुको पर्यटन प्रबद्र्धनका लागि बुलेट बाईक यात्रा गर्न लागिएको हो ।

सुर्खेत कांक्रेबिहार, देउति बजै मन्दीर, गोठीकाँडा, दैलेख गुराँशे, शिरस्थान ज्वाला, कालिकोट कोटदरबार, युद्ध पर्यटकिय स्थल पिली, तिलागुफा, जुम्ला चन्दनाथ मन्दीर, सिजाँ उपत्यका, मुगु रारातालसम्मका पर्यटकिय स्थलको प्रचार प्रसार र समग्र कर्णालीको पर्यटन प्रबद्र्धनका लागि राईड टु रारा, सुर्खेतदेखी रारा तालसम्मको बुलेट बाईक यात्रा गर्न लागिएको त्रिवेणी एड्भेन्चरका संचालक एवं पर्यटन व्यवसायी मनराज सिम्खाडाले बताए ।

उनका अनुसार राईड टु राराका लागि निशुल्क रुपमा राईडरहरुलाई सहभागी गराईनेछ । उनीहरुले मोटरसाईकल र त्यसमा लाग्ने पेट्रोल बाहेक खान, बस्नका लागि आबश्यक खर्च आफुहरुले बेहोर्ने छौँ । राईड टु रारा बैशाख १० गतेदेखी १४ गतेसम्म हुनेछ । उक्त यात्राका लागि नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद, नेपाल आटो मोबाईल एसोसियसन, माउन्टेन स्पोर्ट्स फेडेरेशन नेपालको सहयोग गरेका छन् ।

सुर्खेतबाट रारासम्म पुगिसकेपछि रारामा स्लो मोटरसाईकल ड्राईभिङ प्रतियोगिता, मोटो खाना राईड, उत्कृष्ट फोटो प्रतियोगिता लगायतका बिभिन्न कार्यक्रमहरु गरिनेछन् । मोटो खाना राईडको बिजेतालाई एसियन प्रतियोगितामा सहभागि गराईनेछ । नभ इन्टरप्राईजेज सुर्खेतका संचालक उत्सव भण्डारीले नेपालमै पहिलो पटक कर्णालीमा निशुल्क बुलेट राईड हुन लागेको बताए । उनले भने, हाम्रो उद्देश्य नै कर्णालीमा पर्यटन प्रबद्र्धन गर्ने हो । बुलेट बाईकको पनि प्रचार गर्ने हो । अब यो यात्रालाई हरेक बर्ष बिभिन्न पर्यटकिय स्थलहरुलाई लक्षित गर्दै आयोजना हुनेछन् । यो यात्राका लागि हालसम्म १२ जना राईडरले निबेदन दिसकेका छन् । धेरैले सम्पर्क गरेका छन् । बैशाख १० गते बिहान सुर्खेतदेखी यात्रा थालनी हुनेछ ।