
प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख १५ देखि तीन दिन भारत भ्रमणमा जाने भएका छन् । सरकारले उनको भ्रमणको गृहकार्य अघि बढाएको छ । नयाँ घटनाक्रम केही नभए र सबै कुरा अहिलेको योजनाअनुसार अघि बढे प्रधानमन्त्री दाहाल १५ गते बिहान दिल्लीतर्फ उड्ने सरकारी स्रोतले जनाएको छ । तेस्रो पटक प्रधानमन्त्री भएका दाहालको पहिलो विदेश भ्रमण भारतबाट हुन लागेको हो ।

स्रोतका अनुसार भारतको विदेश मन्त्रालयले मिति प्रस्ताव गरेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेबमोजिम भ्रमण गर्न सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल र नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदबीच कुराकानी भएको छ । भ्रमणकै गृहकार्य भइरहेका बेला कांग्रेस नेता साउद आइतबार परराष्ट्रमन्त्री नियुक्त भएका हुन् । परराष्ट्रमन्त्री साउदले भ्रमणको गृहकार्य भइरहे पनि मितिको सन्दर्भमा अझै छलफल चलिरहेकै बताए । ‘हामी अहिले मितिका सम्बन्धमा छलफलमा छौं । दुवै पक्षबाट टुंगो लागेपछि सार्वजनिक गर्छौं,’ उनले भने ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले भ्रमणको मिति निश्चित गर्ने गृहकार्य भइरहेको बताए । ‘भारत भ्रमणलाई मध्यनजर गरेरै छिटो परराष्ट्रमन्त्री नियुक्त गरिएको हो, यसले भ्रमणको गृहकार्य सहज हुन्छ,’ उनले भने, ‘वैशाख १५ आसपास भ्रमण हुने सम्भावना छ, छिट्टै टुंगो लाग्छ ।’ भारतले पठाएको मिति टुंगो लगाएर नेपालले भारतीय पक्षसँग पत्राचार गर्ने तयारी रहेको स्रोतले जनाएको छ । त्यसपछि दुवै देशले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा विज्ञप्ति जारी गर्नेछन ।

माओवादी अध्यक्ष दाहाल गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । प्रधानमन्त्री भएको पर्सिपल्टै दाहालले एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए । यसबीचमा ‘बोआओ फोरम फर एसिया’ का लागि बेइजिङबाट निम्तो आउँदा पनि दाहाल सहभागी हुन गएनन् । बोआओ सम्मेलन चैत १४ देखि १७ सम्म चीनको हेनान प्रान्तमा भएको थियो ।
दाहालको भारत भ्रमणका क्रममा दुई मुलुकबीच हुन सक्ने साझेदारी र हुने छलफलका विषयमा गृहकार्य भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रले भ्रमणका सम्बन्धमा अन्य मन्त्रालयसँग पनि सहकार्य गरिरहेको छ । परराष्ट्र स्रोतका अनुसार भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दुईतर्फी बनाउने प्रस्ताव, १३६ किलोमिटर लामो काठमाडौं-रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), डिजिटल पैसा तिर्ने ई-वालेटलगायत विषयमा छलफल गर्ने तयारी छ । भारतले नेपाललाई महेन्द्रनगरबाट प्रवेश गर्ने गरी हवाई रुट दिने सम्भावना छ । कान्तिपुरबाट