कैलालीको मालाखेती अस्पतालमा नर्मल भनिएकी सुत्केरी र बच्चाको मृत्यु

चैत २७,धनगढी | कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालाखेती अस्पतालमा बच्चा सहित एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । आईतबार बिहान सुत्केरीका लागी आएकी गोदावरी नगरपालिका वडा नं २ कडायत टोलकी २८ वर्षिया लक्ष्मी भट्टराई को मृत्यु भएको हो ।

मृत्यु भएपछि अस्पतालका डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानियहरुले विरोध गरेका छन् । सोमबार बिहानदेखी अस्पतालको सेवा प्रवाह ठप्प छ । स्थानियहरुले लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छ्न् ।

चैत १८ गते सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताईन् । उनले नर्मल छ भन्दै उपचारमा डाक्टरहरुले चासो नदिएको बताईन । ‘सुत्केरी व्यथा नलागेकाले डाक्टरहरुले दुई तिन चोटी व्यथा लाग्ने औषधी लगाए, तर पनि व्यथा लागेन’ उनले भनिन ‘हिजो साँझ सम्म पनि केही भएन, डाक्टरहरुले टाईम टाईममा आएर औषधी राख्ने जाने गर्नुभयो, त्यति मतलब गर्नुभएन ।’

उनले बिहान अर्को डाक्टर आएपछि मात्रै उनले विरामीलाई समस्या भएको जानकारी गराएको बताईन । उनले विरामीलाई अरु केही चेकअप नगरी सुईबाट औषधी चढाउने काम मात्रै गरिएको बताईन । उनले बच्चा पनि मरेको निकालिएको बताईन ।

तर यता अस्पतालका प्रमुख डाक्टर अन्वेश कोईरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छ्न् । अस्पताल प्रशासन सँग छलफल थालेर निर्णय लिने पिडित पक्षले बताउदै आएको भएपनि अस्पतालमा प्रशासनका कुनै पनि व्यक्तिहरुको उपस्थिति भएको छैन् । अस्पतालमा अप्रेशन सेवा सुरु भएको केही दिनमै नर्मल भनिएकी सुत्केरी र बच्चाको मृत्युले स्थानियमा आशंका उब्जाएको छ ।