
चैत्र २७, रुकुम पूर्व | चैत २३ गते मृत भेटिएका रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–३ रन्माका दुई दिदी–बहिनीको हत्यामा संलग्न भएको आरोपमा दुई जना नाबालिकाहरुलाई पक्राउ गरेको जनाएको छ ।

चैत २१ गते मंगलबार बिहान १० बजेको समयमा सिस्नो टिप्न भनी गएका दिदीबहिनीहरु १० वर्षीया रिणा र ८ वर्षीय काली बुढा भोलिपल्ट बिहान सोही स्थानको घ्याङरजुङ जंगलको भीरमा मृत भेटिएका थिए ।
मृत फेला परेपछि जिल्ला प्रहरी कार्यालयले थालेको अनुसन्धानबाट घटनामा संलग्न देखिएको आरोपमा दुई जना नाबालिकाहरुलाई नियन्त्रणमा लिएको आइतबार साँझ जिल्ला प्रहरीले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । नियन्त्रणमा लिइएका नाबालिकाहरुलाई आइतबार नै जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले मृत नाबालिकाहरुसँग रहेको सुनका गहना लिनका लागि अरु दुई नाबालिकाहरुले उनीहरुमाथि आक्रमण गरेको र त्यसपछि हत्या गरेर भीरबाट लडाइदिएको अहिलेसम्मको अनुसन्धानबाट खुलेको बताइन् ।