इम्बोस्ड नम्बर प्लेटमा देवनागरीमै लेख्न मिल्ने

चैत्र २१, काठमाडौ । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्थामात्र थियो । त्यसलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको हो ।

‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने कानुनी व्यवस्था गरेका हौं’ मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भनिन् ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका बेला इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा पनि लेख्ने व्यवस्था गर्ने बताउँदै आएका थिए ।