
आजदेखि एसइइ परीक्षा संचालनमा आएको छ । यसै क्रममा कोहलपुर–२, गौरीनगरकी एक आमाले महानता देखाएकी छिन् । कस्तुरा बुढाले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी छ्न् । शुल्क नतिरेको भन्दै विद्यालयले प्रवेशपत्र नदिएपछि कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेर छोराको शुल्क तिरेकी हुन् । मासिक ३ प्रतिशत ब्याज दिने गरी तिलहरी धितोमा राखेको उनले बताइन् ।

‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्, ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र दिएन। अन्तिममा तिलहरी धितोमा राखे र छोराको शुल्क बुझाएँ ।’
शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन् । तर गाउँमा मान्छे मरेकाले उनले सोचे अनुसार हुन सकेन । उनले भनिन्, ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन । खसी बिक्री भएन । अनि छोराको परीक्षा नरोक्न तिलहरी धितो राखेर पैसा लिएँ।’

अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताइन्। ‘छोराको खुसी नै मेरो खुसी हो,’ उनले भनिन्।
उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुन् । एउटा छोरा नवीनबहादुरको स्वास्थ्य अवस्था कमजोर छ। कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीबहादुरले भने एसइई दिन पाउने भएका हुन्। ‘विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेलाबेला खबर आउँथ्यो,’ उनले भनिन्, ‘तर के गर्नु गरिबीले गर्दा तिर्न सकेकी थिइनँ।’
उनका पति रोजगारीका लागि भारत पुगेका छन् । सम्पत्तिका नाममा एउटा जस्तापाताले बनाएको सानो घर छ। एक मुठी उब्जनी हुने जग्गा छैन । कस्तुरा पनि दैनिक ज्यालादारीको काम गर्छिन् । ‘तिलहरी धितो राखेर छोराले एसइई दिन त पाउने भयो। यसमा खुसी लागेको छ,’ उनले भनिन्, ‘तर एसइई पासपछि के पैसाले छोरालाई पढाउने भन्ने चिन्ता लागेको छ।’