दैलेखमा ९०० लिटर अवैध घरेलु मदिरा नष्ट

चैत्र १६, दैलेख । जिल्लाको दुल्लु नगरपालिकामा अवैध रूपमा तयार पारिएको ९०० लिटर घरेलु मदिरा जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको टोलीले दुल्लु नगरपालिकाका बिभिन्न स्थानबाट अबैध मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बनाउने भाडा नष्ट गरेको हो ।

प्रहरी निरक्षक कृष्ण बहादुर डांगीको कमाण्डमा खटिएको टोलिले दुल्लु नगरपालिका वडा नं.१ बागदुल्ला बजार वडा नं.५ रीजुपोखरा तथा वडा नं. १० गमौडी, गैरीमा बिभिन्न स्थानिय होटल पसल तथा घरहरुमा चेकजाँच गरी अबैध तयारी घरेलु मदिरा ९०० लि., मदिरा बनाउने कच्चा पदार्थ २५०० लि.,र मदिरा तयार पार्ने भाडा थान ५ बरामद गरी स्थानिय जनप्रतिनिधिको रोहबरमा मदिरा नष्ट गरेको थियो ।

अवैध मदिरा सेवनबाट हुने खतरा र असरबारे सर्वसाधारणलाई जानकारी गराउन स्थानीय जनप्रतिनिधिको निर्देशनमा मदिरा नष्ट गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखले यस क्षेत्रमा अवैध मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्धको कारबाहीलाई निरन्तरता दिने वाचा गरेको छ । भने, अवैध कारोबारसँग सम्बन्धित कुनै पनि शंकास्पद गतिविधि भएमा खबर गर्न नागरिकलाई आग्रह गरेको छ । यसैबीच, अधिकारीहरूले सर्वसाधारणलाई घरेलु मदिरा सेवन नगर्न आग्रह गरेको छ ।

दैलेखमा पछिल्लो समय प्रहरीले निरन्तर रुपमा घरेलु मदिरा जफत गरि नष्ट गर्ने कार्य तिब्ररुपमा अघि बढाईरहेको छ ।