सीता एयरको जहाजले यात्रुलाई काठमाडौं लैजान्छौं भनेर नेपालगन्जमा पुर्याएपछि

चैत १६, तुल्सपुर। दाङबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाजले यात्रुलाई नेपालगन्जमा अलपत्र पारेको छ । बिहीबार बिहान ११ बजे दाङको टरिगाउँ एयरपोर्ट बाट काठमाण्डौको लागि उडेको सिता एयरको जहाजले यात्रीहरुलाई नेपालगन्जमा अलपत्र पारेको हो ।

विमानका कर्मचारीले राराबाट आकस्मिक उडान भर्नुपर्ने भन्दै यात्रुलाई ओरालेर त्यहाँबाट जहाजले अन्यत्र उडान भरेको थियो । यात्रुलाई नेपालगञ्ज ओरालेपछि यात्रु र विमानका कर्मचारीबीच केहीबेर भनाभन भएको थियो ।

यात्रुलाई काठमाडौं लैजान्छौं भनेर नेपालगन्ज लगेर ओराल्नु सीता एयरको गम्भीर लापर्बाही भएको घोराही रतनपुर निवासी यात्रु लक्ष्मी पहराईले बताइन् ।

विमानका कर्मचारीले सुरुमा अर्को जहाजमा व्यवस्थापन गरेर पठाउँछौं भनेर आक्रोशित यात्रुलाई शान्त बनाए पनि पछि बेवास्ता गरेको यात्रुको भनाइ छ । सीता एयरले यात्राको व्यवस्थापन नगरेपछि आफू बुद्ध एयरको जहाजमा काठमाडौं पुगेको लक्ष्मीले बताइन् ।

१२ जना यात्रु लिएर उडेको जहाज सवा ११ बजे नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।