प्रधानमन्त्री विरूद्ध नाराबाजी गर्दा जेल परेका युवा धरौटीमा रिहा

चैत १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परी थुनामा रहेका तीनजना धरौटीमा रिहा भएका छन् । बझाङका १८ वर्षीय विप्लव खड्का, बाग्लुङका सोम शर्मा र सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत सोमबार कारागार चलान भएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ५ हजार रुपैयाँ धरौटी बुझाएर उनीहरू रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा अभ्रद व्यवहारमा मुद्दा दर्ता भएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ५ हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरूलाई डिल्लीबजार कारागार जेल चलान गरिएको थियोे । प्रधानमन्त्री विरूद्ध बोलेकै भरमा पक्राउ गरी जेल चलान भएपछि सर्वत्र विरोध भएको थियो । सत्तापक्षकै सांसदहरूले समेत विरोध जनाएका थिए ।

आज बिहान नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्ड विरूद्ध नाराबाजी गरेको आरोपमा थुनामा परी जेल चलान गरिएका युवाहरूलाई तत्काल रिहा गर्न माग गरेका थिए । महामन्त्री शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थु्न्न या थुनामा राख्न नमिल्ने बताएका थिए ।