जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा भ्रष्टाचार विरुद्ध मौन धर्ना

सुर्खेत , चैत १४ गते । जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा भ्रष्टाचार विरुद्ध मौन धर्ना गरिएको छ । जिल्लामा हुने गरेका अनियमितता, ढिलासुस्ती, घुसखोरी र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बास नेपाल सुर्खेत शाखाले मौन धर्ना दिएको थियो ।

बास नेपाल सुर्खेत शाखाको आयोजनामा मंगलबार ज्ञापन पत्र साथै धर्ना दिने कार्य भएको हो । आज देश भरिका ७७ वटै जिल्लामा यसै गरी भ्रष्टाचार विरुद्ध मौन धर्ना गरिएको छ ।

बास नेपाल सुर्खेतका अध्यक्ष भगवती विसीले जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिकाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्य भएको बताईन ।

असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तिकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैंगिक हिंसा न्यूनिकरण, सामुदायिक सशक्तिकरण र संस्थागत विकासका क्षेत्रमा सुधारका लागि यो कार्यक्रम आयोजना उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी (सिडियो) नारायण प्रसाद सापकोटालाई बुुझाइएको ज्ञापनपत्रमा कुनै पनि सरकारी निकायले सरल र सहज ढंगले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जवाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान गर्ने खालको हुनुपर्ने उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ सापकोटाले कार्यालयमा हुने यस्ता कार्यप्रति आफूले निगरानी राख्नुको साथै हामीले सुशासन कायम गर्नलाई आफुहरू पूर्णरुपमा सचेत रहने बताएका छ्न् ।