सत्यनारायणको पूजाको प्रसाद खाँदा सल्यानमा एकै गाउँका २ सय जना बिरामी

चैत १४, सल्यान । सल्यानमा पूजाको प्रसाद खाँदा एकै गाउँका २ सय जना बिरामी परेका छन । सल्यान बाग्चौर नगरपालिका-५ धारापानीस्थित बाहुनठानामा प्रेमबहादुर खत्रीको घरमा लगाइएको सत्यनारायणको पूजाको प्रसाद खाँदा झन्डै २ सय जना बिरामी भएका हुन् ।

प्रसाद खादा ‘फुड प्वाइजन’ भएको स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी भुवन पुनले बताए । बिरामीलाई झाडापखाला लाग्ने, पेट दुख्ने, चक्कर लाग्ने र ग्यास बढ्ने जस्ता समस्या देखिएको छ । फुड प्वाइजनका कारण बालबालिका, बुढाबूढी तथा वयस्क सबै प्रभावित भएको स्वास्थ्यकर्मी पुनले जानकारी दिए ।

उनका अनुसार बिरामी परेकालाई उपचार गरेपछि झाडापखाला ठीक भएको तर पेट दुख्ने, ग्यास बढ्ने र चक्कर लाग्ने समस्या भने पूणर्रुपमा नियन्त्रणमा आइसकेको छैन । बिरामी भएका पाँच जनालाई स्वास्थ्य संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा पठाइएको र उनीहरुको अवस्था अहिले सामान्य रहेको छ ।