कालिकोटको नरहरिनाथमा बिद्धुत सेवाका लागि राष्ट्रिय प्रसारण लाईनको काम अन्तिम चरणमा

चैत १२ कालिकोट-टुकिले अँध्यारो संग सामना गरेका नरहरिनाथ बासिले अब राष्ट्रिय प्रसारण लाईनको विधुत प्रयोग गर्न पाउने भएका छन् । भौगोलिक दृष्टिले पिछडिएको कालिकोट जिल्लाका कतिपय स्थानिय तहमा र स्थानीय तहका वडामा भने सडक पुग्न सकेको छैन । तर टुकि र सोलार को साहारा लिएर अँध्यारो संग जुधेका यहाँका नागरिकले अब विधुत प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल विधुत प्राधिकरण कालिकोट वितरण केन्द्रको हप्तौं दिन देखिको निरन्तर प्रयास (प्रसारण लाईन निर्माण, मर्मत तथा ट्रान्सफर्मर जडान कार्य) पछि नरहरिनाथ गाउँपालिपकामा समेत राष्ट्रिय प्रसारण लाईनवाट विधुत सेवा पुर्‍याउने कार्य अन्तिम चरणमा पुगेको हो । पहिलो चरणमा नरहरिनाथ गाउँपालिका वडा नं. १ कोटवाडा, सुनथराली विमानस्थल लगायतको क्षेत्रमा यही चैत १३ गते विधुत लाईन चार्ज गरिने कार्यक्रम रहेको ने.वि.प्रा. वितरण केन्द्र कालिकोटले जनाएको छ ।

सोहि दिन मान्म ३३/११ के. भि. सवस्टेसन देखि लालीघाट हुँदै कोटवाडा सम्मको प्रसारण लाईन तथा वडा अन्तर्गतको वितरण लाईनहरुमा विधुत प्रवाह हुने भएकोले विधुत संरचनाहरुमा नछुन र विधुत मिटर जडान समेत गर्न/गराउन ने.वि.प्रा. वितरण केन्द्र कालिकोट को टेलिफोन नं. ०८७-४४०१४७ तथा ०८७-४४०२३६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यसअघि जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ६ , दाहाँ गाउँका २०० घरमा विधुत सप्लाई हुने गरि केन्द्रीय प्रशारण लाइन पुर्याई ट्रान्सफर्मर सफलपुर्वक चार्ज गरिएको ने.वि.प्रा. वितरण केन्द्र कालिकोटले जनाएको छ । यस्तै, नरहरिनाथ गाउँपालिकामा विधुतिय मिटर जडान हुन वाँकि रहेका घरहरुमा समेत शिघ्र मिटर जडान गराउनु हुन वडा वासिहरुमा गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले निर्देशन दिनुभएको छ ।