प्रहरीको लाठीबाट घाइते भएका कोशी विरोधी आन्दोलनकारी पदमको उपचारकाे क्रमम मृत्यु

चैत १०, विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बू लागेहाङको मृत्यु भएको छ ।

टाउकोमा चोट लागेर गत मंगलबार राति उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका पदमको उपचारको क्रममा मृत्यु भएको हो ।

लिम्बूको बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको पदमका भाइसमेत रहेका मोरङको बेलबारी नगरपालिका-२ का वडा सदस्य दिपेन्द्र खजुम लिम्बुले बताए ।

विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको मृतकका आफन्तले बताएका छन् ।